बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको बताएकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी उनले आफू नेपाल आउन पाउँदा निकै खुसी महशुस गरेको बताइन् । बिहीबार दिउँसो नेपाल ओर्लिएकी उनी साँझ करीब साढे ८ बजे चलचित्रको प्रिमियरमा सहभागी हुन काठमाडौंको कुमारी हलमा पुगेकी थिइन् ।
नेपाल प्रहरीको एक टोलीले उनलाई प्रिमियर अवधिभर कडा सुरक्षा दिएको थियो । प्रायः नेपाल आइरहने उनले आफू नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा पनि खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई संसारकै सबैभन्दा मनपर्ने देश नेपाल हो । फेरि पनि नेपाल आउन पाउँदा एकदमै खुसी छु । साथै, नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा निकै गर्व महशुस भएको छ । फेरि पनि नेपाली फिल्म गर्ने बाचा गर्दछु ।’ उनले ‘पासवर्ड’ को सफलताको पनि कामना गरिन् ।
यो चलचित्रको ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी उनले आफूले नृत्य गरेको गीत निकै राम्रो रहेको र धेरैपटक सुनेको बताइन् । गीत नेपाली भाषामा भए पनि लिप्सिङ गर्न कठिनाई नभएको उनको भनाई छ । ठूलो बजेटको नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उनले नेपाली दर्शकलाई चलचित्र मनपर्ने विश्वास व्यक्त गरिन् । नेपालमा पाएको न्यायो आतिथ्यताले आफूलाई आनन्दित तुल्याएको पनि उनले बताइन् ।
प्रिमियरमा उपस्थिति भए पनि उनले चलचित्र भने हेरिनन् । एक विशेष काम रहेको भन्दै उनी करीब आधा घण्टामै हलबाट बाहिरिएकी थिइन् । प्रिमियरमा चलचित्रका निर्देशक सम्राट बस्नेत, कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी, परि राना, रविन्द्र झालगायत उपस्थित थिए । अभिनेता भुवन केसी, निर्देशक दीपश्री निरौला, निर्देशक दीवाकर भट्टराई, अभिनेता मनिष सुन्दर श्रेष्ठलगायत पनि चलचित्र हेर्न हल पुगेका थिए ।
अधिकांश छायांकन लण्डनमा भएको ‘पासवर्ड’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । पशुपति परिसरबाट चोरिएर लण्डन पुर्याइएको बहुमुल्य मुर्ति नेपाल फिर्ता गर्न पात्रहरुले गर्ने संघर्षमा चलचित्र आधारित छ । गीतमा नृत्य गर्दैगर्दा चलचित्रको प्रिमियरमा सहभागी हुने बाचा पूरा गर्न नेपाल आएकी अभिनेत्री सन्नी लियोनी शनिबार दिउँसो स्वदेश फर्किँदैछिन् । उनी श्रीमान् डेनियल वेबरसँग नेपाल आएकी हुन् ।