

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्कनुहुने छ । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई उनकाे पार्टी नेकपाका कार्यकर्ताले विमानस्थलमा स्वागत गर्ने तयारी छ।