

काठमाडौं, १५ भदौ । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज सुरु भएको छ । हिन्दु नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन तीज मनाइन्छ। आज पहिलो दिन मिठा मिठा परिकार बनाएर दरखाने गरिन्छ । आज विभिन्न मीठा परिकारका साथ दर खाएर यो पर्व मनाइदैछ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ ।

टाढाका चेलीबेटी आजका दिन माइतीघर वा आफन्तकोमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।
हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाँचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । परापूर्व कालमा देवी पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ। भारतका कुनै कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ। तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ।
