

काठमाडौँ ,१३ भाद्र । सुडानकाण्डका दोषीमध्येका एक शम्भु भारती पक्राउ परेका छन् । प्रहरीले भारतीलाई १३ भदौको विहान उनकै निवासबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित भारतीलाई पनि दोषी ठहर गरेको थियो ।भारती ठेकेदार कम्पनीका नेपाली प्रतिनिधि हुन् । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो । तिव्र खोजीमा परेका भारतीलाई पक्राउ गरेको पुष्टि नेपाल प्रहरीले गरेको छ । फैसला कार्यान्वयनको पत्रपछि उनलाई सीआइबीको टोलीले पक्राउ गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी रामदत्त जोशीले भारतीलाई बिहान पक्राउ गरिएको जानकारी दिए । भारतीलाई एकवर्ष कैद विगो तथा जरिबानाको फैसला गरिएको थियो । सुडान मिसनमा २९ करोड भ्रष्टाचार भएको थियो । सर्वोच्च अदालतले नेपाल प्रहरीको युएन मिसनलाई आवश्यक सैन्य सामाग्री बोक्ने गाडी एपीसी खरिदमा पूर्व आइजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी दोषी ठहर गरिएका थिए ।
एपीसी खरिदको एक दशक बितेपनि अख्तियारले दायर गरेको मुद्दामा सर्वोच्चले केही वर्ष अघि फैसला गरेपछि घटनामा दोषी ठहरिएकाहरु जेल जानुपरेको थियो । एपीसी खरिदमा पुरानो र कच्चा सामान सुडान पुगेपछि विदेशमा समेत देशको प्रतिष्ठामा आँच आउने अवस्था बनेको थियो । त्यसपछि छानविन हुँदा २९ करोड भ्रष्टाचार भएको ठहर भयो । घटनामा दोषी ठहरिएकाबाट बिगो जरिवानासहित जेल सजाय तोकिएको थियो ।