

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।
सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्सानको कसुरमा लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। यस्तै, नर्स अस्मिता कार्की भने अदालताको आदेश अनुसार साधारण तारेखमा छुटेको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले जानकारी दिए। धरौटीमा छुटेपछि पनि अदालतको आदेशसँगै अब लामिछाने, कँडेल र अस्मिताले बाहिरै बसेर बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।