रविसहित तिनै जनाको बयान सकियो, थुनछेक बहस सुरु

रविसहित तिनै जनाको बयान सकियो, थुनछेक बहस सुरु

चितवन, ९ भदाै । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि शुरु भएको बयान सकिएको हो । अस्मिता भनिने रुकु कार्कीको बयान भने हिजो नै सकिएको थियो ।

हिजो समय अभावका कारण दुई जनाको बयान आज लिइएको श्रेष्तेदार गिरीले बताउनुभयो । तिनै जनाको बयान सकिएकोले अहिले थुनछेक बहस शुरु भएकाे छ ।बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको उहाँले बताउनुभयाे । उहाँका अनुसार जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु। ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।

यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई हिजो जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो नै मुद्दा दर्ता गराएको हो ।

गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।

उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ भरतपुरमा प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र रु ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । यस अघि यसै प्रकारका ६ वटा मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भईसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा जारी छ। बिहानदेखि चौविसकोठी चोकमा प्रर्दशन भइरहेको छ

उत्तरमा बाइपासतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पश्चिम लोकमार्गतर्फको चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ। दक्षिणमा बाइपास सडकदेखि घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ।