पुडासैनी प्रकरण: कँडेलको बयान लिन सुरु, रविको बयान पनि आजै

पुडासैनी प्रकरण: कँडेलको बयान लिन सुरु, रविको बयान पनि आजै

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा आज जिल्ला अदालत चितवनमा युवराज कँडेलको बयान लिन सुरु गरिएको छ । हिजो अस्मिता कार्की (रुकु) को बयान लिइएको र आज कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान लिन लागिएको बताइएको छ ।

अदातलका श्रेस्तेदार रुद्रमणी गिरीकाअनुसार बयानका लागि लामिछाने र कँडेललाई बिहान अदालतमा लगिएकोमा पहिला कँडेलको बयान लिने काम सुरु भएको छ । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिन सुरु भएको उहाँले बताउनुभयो । उनीहरुको बयान सकिएपछि थुनछेक बहस हुने उहाँले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

प्रहरीले दायर गरेको अभियोगपत्रमा उनीहरुले आत्महत्या दुरुत्साहन गरेको दाबी गर्दै ५ वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ । यस्तै, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ।

सोही अभियोगपत्रअनुसार आज लामिछाने र कँडेलको बयान हुन लागेको हो। मुद्दाका अर्की आरोपी अस्मिता (रुकु) कार्कीको भने आइतबार नै बयान सकिएको छ। बयानमा उहाँले पुडासैनी आफ्नो साथीका रुपमा रहे पनि आत्महत्या गर्न उक्साहट नगरेकाले सफाई पाउनुपर्ने दाबी गर्नुभएकाे छ ।

लामिछाने र कँडेलको बयान सकिएपछि दुवै पक्षका वकिलको थुनछेक बहस हुने बताइएको छ। बहसका लागि धेरै वकिलले वकालतनामा लेखाएकाले आजै बहस नसकिने र मंगलबारमात्र अदालतको आदेश आउने सम्भावना रहेको बताइएको छ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मृत्युअघि रेकर्ड गराएको भिडियोमा उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएका बताएका थिए। सोही भिडियोका आधारमा प्रहरीले ३० साउनमा उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई हिजो जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो नै मुद्दा दर्ता गराएको हो ।

गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।

उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ भरतपुरमा प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र रु ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । यस अघि यसै प्रकारका ६ वटा मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भईसकेका छन् ।

याे पनि पढ्नुहाेस्

https://rastrabani.com/रवि-र-युवराजको-बयान-आज/