टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चार गम्भीर घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चार गम्भीर घाइते

काठमाडौं, ९ भदौ । काठमाडौँको सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् ।

सिनामङ्गल कार्गो कार्यालय अगाडि गएराति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन् ।

बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए। चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।