चितवन, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न आज जिल्ला अदालत चितवनले अनुमती दिएकाे छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीकाे इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपको माग गर्दै तीनै जनालाई अदालत पेश गरेको भए पनि अदालतले ५ दिनको म्याद थप गरेको हो ।
अदालतमा लामिछाने र कँडेलको पक्षबाट सशील पन्त र सुनिल पोखरेलले बहस गरेका थिए । यो प्रकरणमा प्रहरीले केही प्रमाण संकलन गरेको र केही नयाँ कुरा खुलेकाले अनुसन्धानका लागि अझै १० दिनको म्याद थप गर्न माग गरेको थियो । बीचमा शनिबार परेकाले अनुसन्धानमा ढिलाइ भएको सरकारी वकिलले दलील पेस गरेका थिए ।
गत बिहीबार हिरासतमा लिइएका रवि लामिछानेसहित ३ जनालाई प्रहरीले अदालतमा उपस्थित गराइ ५ दिनको म्याद लिइएको थियो । प्रहरीले अनुसन्धान प्रक्रिया बाँकी नै रहेको भन्दै मंगलबार थप १० दिनको म्याद थप माग गर्दै उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो ।