काठमाडौँ, ३२ साउन । नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकारहरुकी अनुयायी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको आज निधन भएको हो ।
विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।
उनले दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गरेकी छिन्। उनको अभिनय क्षमताका कारण दर्शकमाझ उनी लोकप्रिय थिइन्। उनका १ छोरा र छोरी छन्।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गरिन्। निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनयसमेत गरेकी छिन्।
स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।