

काठमाडाैं, २७ साउन । २० औँ अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट १२ का दिन विश्वभर युवा दिवस मनाउने गरिएको छ ।
‘शिक्षामा रुपान्तरण’ भन्ने नारा अन्तर्राष्ट्रिय रूपमा भए पनि नेपालमा भने ‘उद्यमशीलता र नव प्रवर्तन’ भन्ने नारासहित युवा तथा खेलकुद् मन्त्रालय, राष्ट्रिय युवा परिषद्को आयोजनामा सरकारी स्तरमा बिभिन्न कार्यक्रम तय गरिएको छ ।
संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवस मनाउने गरिएको छ ।
यसैबीच नेपाल युवा परिषद्ले पनि दिवसको अवसरमा काठमाडौँमा ‘राष्ट्रिय युवा सम्मेलन’को आयोजना गरेको छ । सोल्टी बैक्वेटमा ४ दिनसम्म चल्ने सम्मेलनमा ७७ जिल्लाबाट एकजना महिला र पुरुष, आदिवासी, अपाङ्गता लगायतका गरी ५० जना गरी २ सयभन्दा धेरैको युवाको सहभागिता रहेको छ । ‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा २० भन्दा धेरै कार्यपत्र र छलफल चल्ने बताइएको छ ।
दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने उपाय तथा हुनसक्ने परिवर्तनको विकल्पलाई देखाउँछ । विभिन्न देशमा त्यहाँको परिवेश अनुसार युवा उमेरको हद तोकिएको छ । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।
विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् ।
अहिले युवाको विदेश जाने सङ्ख्या केही घटेको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कबाट वार्षिक पाँच लाख ३८ हजार युवा विदेश जाने गरेकोमा अहिले यो संख्या तीन लाख २३ हजारमा झरेको छ । यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् ।
युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नम्बरमा रहेको छ । १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका, कृषिमा युवाको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था विद्यमान छ । धेरै मुलुकमा युवा जनसङ्ख्या बढी भएको समयमा विकासमा फड्को मारेका उदाहरण छन् । तर नेपालले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य छन् ।