

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा गर्ने भनिएको महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम अहिले तीन प्रदेशमा मात्र सञ्चालन हुने भएको छ ।
क्षेत्रअनुसारको कार्यव्यस्तताकाकारण यही साउन ३१ र ३२ गते गण्डकी प्रदेशको पोखरामा, भदौ २ र ३ गते प्रदेश ५ को रुपन्देहीमा र भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा मात्र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानबाट प्राप्त जानकारीअनुसार प्रशिक्षणमा गण्डकीमा करिव ३ सय ५० जना, प्रदेश ५ मा ४ सय ९० जना र कर्णालीमा २ सय २६ जना सहभागी हुने भएका छन् ।
कांग्रेसको सांगठनिक संरचना र विधानका मूल विशेषताहरु, कांग्रेसका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधारहरु, वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारेमा प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षणमा यातायात र आवासको व्यवस्था सहभागी आफैले गर्नुपर्ने र रजिष्टेसनकालागि एक हजार पाँच सय तोकिएको जनाइएको छ । बाँकी चार वटा प्रदेशको प्रशिक्षण कार्यक्रम अनुकूल समयमा आयोजना गरिने बुझिएको छ ।