आज साउन १५ अर्थात खिर खाने दिन

आज साउन १५ अर्थात खिर खाने दिन

काठमाडौं, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । हरेक वर्ष साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । सांस्कृतिक परम्पराअनुसार कृषि प्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।

चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलबाट कार्बोहाइड्रेड र अन्य सामग्रीले भिटामिन र मिनरल्स प्रदान गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा हो खीर ।

साउनमा खीर खानुको वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ । साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।

हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।

सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।

परम्पराअनुसार अक्षय तृतीयाका दिन जांको सातु र सर्बत खाने, कात्तिक महिनामापर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, १५ माघमा मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ ।