सिंगापुर, ८ साउन । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियामाथि सानदार जित हात पारेको हाे ।
मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ । नेपालको सहज जितमा कप्तान मल्लले ५१ रनको विश्फोटक कीर्तिमानी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए ।