

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडे । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागे। उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे। पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन्।
नेकपाले पुष्पलालको स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । अन्य कम्युनिस्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । २००६ सालमा भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए ।
पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनीको जन्म भएको थियो। पिता भक्तलाल रामेछापमा मालका सुब्बा थिए, पछि छोराका कारणले जागिर खोसिएको थियो।