

काठमाडौं, ७ साउन । जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा आगामी कात्तिक महिनामा हुने भएको छ । पहिलो चरणमा जापान सरकारले अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको हो ।
तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्नेचाहिँ यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । गत चैतको दोस्रो साता नेपाल र जापान सरकारबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको थियो । त्यतिबेला उक्त सम्झौंता अनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया बैशाख महिनाबाटै सुरू हुने बताइएको थियो । अब भने भाषा र सीपसम्बन्धी परीक्षा सकिएको दुई महिनाभित्र नेपाली कामदार जापान जाने मन्त्रालयले जनाएको छ ।
गत डिसेम्बरमा जापानको मन्त्रिपरिषद्ले विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपालीलाई पनि कामदारका रूपमा जापान जाने बाटो खुलेको थियो । दुई सरकारीबीच भएको सहमति अनुसार जाने नेपालीले १४ वटा विभिन्न क्षेत्रमा काम गर्न पाउनेछन् ।