महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसले प्रशिक्षण दिने

महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसले प्रशिक्षण दिने

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ र १७ गते प्रशिक्षण दिने भएको छ ।

प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको सचिव मुक्ति आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । प्रतिष्ठानले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । यो समिति सदस्यमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा छन् ।

त्यस्तै तारानाथ दाहालको संयोजक रहने तथा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्देशिका निर्माण समिति गठन गरिएको छ । स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजक र सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल चयन भएका छन् ।

प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्ति :

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, बीपी नगर ललितपुरमा आज सम्पन्न भयो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ :
१. ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने ।

२. डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा- डा. आरजु राणा देउवा, श्री हरिहर विरही, श्री राजु नेपाल र श्री प्रसिस महरा रहनुभएको छ ।

३. श्री तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा- श्री भद्रा पराजुली भण्डारी र श्री रामजी कंग्रेन रहनुभएको छ ।

४. श्री खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, श्री भद्रा पराजुली भण्डारी, श्री कमला लामिछाने, श्री भगिरथ पोद्धार र श्री योगराज शर्मा कँडेल रहनुभएको छ ।

५. नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

मुक्ति आचार्य
सचिव