काठमाडौं, ५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । विभागको जिम्मेवारी र जिल्ला तहको इन्चार्ज टुङगो लगाउने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने सचिवालय बैठकमा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगायतका एजेन्डा रहेका छन् । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।
कसले कुन विभाग, आयोग र इन्चार्जको नेतृत्व पाउनेमा विवाद छ । धेरैजसो विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागि सकेको छ । यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।
पार्टीको विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने गरी टुंगिएको छ।
सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्। ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ। यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।
यस्तै पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्।