‘सरकार मलाई बदनाम गराउँन खोज्दैछ’–कांग्रेस नेता बस्नेत

‘सरकार मलाई बदनाम गराउँन खोज्दैछ’–कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्ब सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा सहकारी संस्थामा ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको भनी प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउने प्रयास भएको बताएका छन्।

फाेटाे: रामचन्द्र दुलाल

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बस्नेतले सो सहकारीमा आफ्नो र परिवारका सदस्यको नाममा खातासमेत नभएको भन्दै तथ्यहीन समाचार बाहिर ल्याउन सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका मानिसहरु लागि परेको उल्लेख गरे।

सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले शुक्रबार सहकारीमा ‘मोहनबहादुर बस्नेत र उहाँको परिवारको नाममा कुनै खाता नरहेको र पैसासमेत नभएको’ स्पष्ट पारेका छन्। थापाले आफ्नो ‘सहकारीको ब्यालेन्ससिटको आकारै ६० करोडभन्दा कम छ भने कसरी त्यति ठूलो रकम खातामा हुन सक्छ’ भनी प्रश्नसमेत गरेका छन्।

फाेटाे: रामचन्द्र दुलाल

पत्रकार सम्मेलनमा नेता बस्नेतले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक स्वतन्त्र पत्रकारिताका पक्षमा छैन भनेर मैले सुरुदेखि नै सार्वजनिक रूपमा स्पष्ट ढंगले राख्दै आएपछि आफूबिरुद्ध अनर्गल प्रचार शुरु भएको बताए। उनले पछिल्लो समय सहकारीमा स्रोत नखुलेको ६१ करोड रुपैयाँ राखेको भनेर आफ्नो नाम जोड्नुलाई त्यसैको एउटा कडी भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

फाेटाे: रामचन्द्र दुलाल

नेता बस्नेतले प्रेसलाई कुनै पनि वादको बहानामा यो वा त्यो नाममा नियन्त्रित र निर्देशित गर्न नहुने भन्दै समाचार लेख्दा स्रोतको आधिकारिकताबिना जथाभावी समाचार लेख्दा कसैको सामाजिक ख्यातिमा पुुग्ने हानी, नोक्सानीप्रति गम्भीर बन्न पत्रकारहरुलाई आग्रहसमेत गरे।