काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
आफ्नो नाममा प्रणामी बचत तथा ऋण सहकारी संस्थामा ६१ करोड रहेको भन्ने भ्रामक समाचारका विषयमा सञ्चार जगतलाई प्रष्ट पार्न तिनकुनेस्थित ग्रीन क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरिएको पूर्व सञ्चारमन्त्री बस्नेतले जानकारी दिए । बस्नेतले उक्त सहकारीमा आफ्नो नाममा कुनै खाता नरहेको प्रष्ट पार्दै भनेका छन् – ‘जुन सहकारी संस्थाको म सदस्य नैै छैन, पैसा हुने कुरै भएन, यही विषयमा आफु विरुद्ध फैलाइएको भ्रम र झुटा आराेपमाथी आज सञ्चारकर्मी साथीहरुसंग यथार्थ कुरा राख्न चाहान्छु ।’
उनले भने – ‘मेरा विरुद्ध जे जस्ता कुरा प्रायोजितढंगले ल्याइएको छ यो सबै झुटो हो । जहाँ विकृति विसंगती छन् त्यो हटाउनुपर्छ भनेर मैले अभियान चलाइरहँदा मेरो बलियो जनाधारको राप र तापलाई निस्तेज गर्ने दुस्प्रयास मात्र हो । ’
यसै विषयमा प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकबिक्रम थापाले पूर्वमन्त्री बस्नेतको नाममा सहकारीमा खाता नरहेकोले पैसा हुने कुरै नभएको स्पष्ट पारिसकेका छन् ।