‘प्राविधिकबिनाको सडक निर्माणले बाढीपहिरोको प्रकोप’

‘प्राविधिकबिनाको सडक निर्माणले बाढीपहिरोको प्रकोप’

काठमाडाैं, ३० असार । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिक रूपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढीपहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।

कमजोर भूधरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो। जानकारहरूका अनुसार महाभारत पर्वत शृंखलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको विज्ञहरूले बताएका छन्। पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण १ हजार ६७२ जनाको मृत्यु भएको छ।

गत वर्षको साउनदेखि सोमबारसम्म २७५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन्। यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन्। यस्तै, २ हजार १२१ जना घाइते भएका छन्। यस्तै, महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन्। बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ।

भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो। बिनाअध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो। यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूलाठूला पहिरो जाने गरेको छ। चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ। याे खबर आजकाे राजधानी दैनिकबाट लिएका हाैं ।