काठमाडौं, २८ असार । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २२ जनाको मृत्यु भएको छ । अझै १० जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी १३ जना घाइते भएका छन् । १० जनाको सकुशल उद्धार गरिएको छ ।
प्रहरीकाअनुसार काठमाडौँमा र खोटाङमा तीन/तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई÷दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक÷एक जनाको मृत्यु भएको छ ।
अविरल वर्षले देशभरको जनजीवन प्रभावित भएको छ भने ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् । सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ । गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ । देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकार, रेडक्रस लगायतका संघ संस्था लगायतसँग समन्वय गरि उद्धार र राहतको कामलाई प्रभावकारी बनाएको दाबी गरेको छ ।
अझै मुलुकभर २ दिन मनसुन सक्रिय रहने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आइतबारसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले देशका अधिकांश भेकमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका केही ठाउँमा अति भारी वर्षासमेत हुनेछ । पूर्वी र मध्यमा एक/दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् । उनीहरुले सर्वसाधारणलाई संयम रहन पनि आग्रह गरेका छन् ।
मौसमविद्हरुले १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भन्ने गर्दछन् । यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ । देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
आज पनि देशको पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशका केही स्थानमा हावाहुरीको सम्भावना छ । भोलि (आइतबार) पनि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
अविरल वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।