कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दैछ। बैठकमा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने एक केन्द्रिय सदस्यले बताउका छन् । यसअघि बसेको बैठकमा १४ वटा एजेन्डा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो।

बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण गर्ने, २०७६ वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने छ। यसैगरी बैठकमा समसामयिक राजनीतिक घटनामक्रम र सरकारको कार्यशैलीबारे पनि छलफल हुने छ।

कांग्रेसका एक नेताका अनुसार केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघ आदिबारे आजको बैठकले निर्णय लिने बुझिएको छ।