काठमाडौं, २६ असार । देशभरको मौसम आज बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वी नेपालका केही स्थानमा पनि भारी वर्षा हुने छ । यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले सूचना निकाले जानकारी दिएको छ । आज राती देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ भने देशको केहि स्थानमा भारी वर्षा हुनेछ ।
नेपाल बाढी सूचनाले सचेत पार्दै भनेको छ, ‘प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौं ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ । विहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।
मौसमी बुलेटिनमा लेखिएको छ, ‘नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ ।’