

ओखलढुङ्गा, २५ असार । ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको हाे भने अन्य १७ घाइते भएका छन् ।
बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।