

काठमाडौं, २४ असार । भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षणको तीन वटा मन्त्रालयबीच आरोपप्रत्यारोप सुरु भएको छ । भारतीय दूतावासको दवावमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको आरोप बढ्दै जाँदा मन्त्रालय र मन्त्रीहरुले दोष एकअर्कामाथि थोपर्न थालेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले पत्रकार सम्मेलन गर्दै तीनवटा मन्त्रालयका सचिवको भरपर्दा आफू विषादी परीक्षण गर्ने निर्णयमा चुकेको दावी गर्नुभयो । मन्त्री यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास र आफ्नै मन्त्रालयका सचिवले गलत सुझाव दिएको बताउनुभयो । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा अत्यधिक विषादी रहेको भन्दै मन्त्रिपरिषद्ले जेठ १० मा निर्णय गर्यो र त्यसको २२ दिनपछि राजपत्रमा प्रकाशित भयो ।
तर ९ दिनअघि भारतीय दूताबासले तरकारी र फलफूलको विषादी परीक्षणसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेको सार्वजनिक भएको पत्रमा देखिन्छ । प्रधानमन्त्रीले तयारी नपुगेका कारण निर्णय फिर्ता लिनुपर्ने बताए पनि कृषि मन्त्री चक्रपाणि खनालको भनाइ ठीक उल्टो छ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयले तरकारीमा विषादी भए–नभएको जाँच गर्ने निर्णय यथावत रहेको जनाएको छ ।
विषादी परीक्षण बारेको सरकारको दुईटै निर्णयबाट जारी बहसका कारण विषादीयुक्त सामग्री खानुहुन्न भन्ने चेतना बढे पनि प्रधानमन्त्रीदेखि मन्त्रीका फरक फरक विचारले भने अन्यौलता सिर्जना गरेको छ ।