पत्रकार महासंघका अध्यक्ष कार्कीमाथि सांघातिक आक्रमण, अवस्था गम्भिर

पत्रकार महासंघका अध्यक्ष कार्कीमाथि सांघातिक आक्रमण, अवस्था गम्भिर

सिन्धुली , २२ असार । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।

प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ। शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हवलदार सनमसिंह लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङ्तानले विनाकारण कुटपिट गरेका बताइएको छ। अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ।

पत्रकार महासङ्घ सिन्धुली शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हवलदार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताए। प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उनको भनाइ छ।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ। पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासङ्घ सिन्धुलीकी उपाध्यक्ष विमला पाण्डेले बताइन्।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारबाही गर्ने बताएका थिए। घाइतेको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले जनाएका थिए। रासस