आज विश्व खेलकुद पत्रकारिता दिवस, ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ हुँदै

आज विश्व खेलकुद पत्रकारिता दिवस, ‘एनएसजेएफ स्पोर्ट्स अवार्ड’ हुँदै

काठमाडौं, १७ असोज । आज विश्व खेलकुद पत्रकारिता दिवस । विश्व खेलकुद पत्रकारहरुको संगठन इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसियसन (एआइपीएस) को अगुवाईमा आज विश्वभर विश्व खेलकुद पत्रकारिता दिवस मनाइँदैछ ।

खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वद्धन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईने गरिएको छ । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि विश्व भरि चर्चा गर्ने गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो । समाचार सम्प्रेषणका क्रममा मृत्यूवरण गरेका पत्रकारहरुको नामको सम्झनामा समेत आजको दिनमा गर्ने गरिन्छ ।

यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले स्पोर्ट्स अवार्डकाे आयाेजना गर्दैछ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टार’को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्ध संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने स्पोर्ट्स अवार्ड मंगलबार काठमाण्डाैको कमलादीमा रहेको प्रज्ञा भवनमा आयोजना हुँदैछ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ ।

अवार्ड कार्यक्रमको मुल आयोजक समारोह समितिका संयोजक तथा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले अवार्डको अधिकांश काम सकिएको जानकारी दिए । ‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पूर्ण समितिका कामहरु लगभग सकिएका छन् । अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ,’ उनले भने । मुल आयोजक समारोह समितिले विभिन्न समिति गठन गरेर अवार्डको तयारी अघि बढाएको थियो ।

विभिन्न दश विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमध्ये पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ भने बाँकी चार विधाको मनोनयन अवार्ड समारोहमा नै सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विधामा पिपुल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी छन् ।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् ।

वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयन छन् ।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ ।

यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यस्तै पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता सिधै अवार्ड कार्यक्रममा घोषणा गरिनेछ । यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेलपत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ ।