

काठमाडौं, १६ असार । पछिल्लो समय विभिन्न विधेयकहरु संसदमा छलफलकाक्रम रहेका छन् भने कतिपय विधेयकहरु संसदमा दर्ताको तयारीमा छन् । यसैक्रममा सरकारले वातावरणलाई स्वच्छ र सफा राख्नको लागि वातावरण संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेययक संसदमा दर्ता गराएको छ ।
वातावरण संरक्षण ऐन २०७५ ले नेपाल सरकार वा प्रदेश सरकारले कुनै पनि क्षेत्र वा स्थानको वातावरणिय अध्ययन गर्न पाउने व्यवस्था गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरि कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट वा अन्य स्थानबाट निस्कने फोहोर निष्कासन वा निराकरणको लागि मापदण्ड बनाउने छ र यदि कसैले सरकारकाले बनाएको मापदण्ड पूरा नगरे कारवाही हुने व्यवस्था ऐनमा छ ।
ऐन अनुसार यदि कसैले वातावरणिय प्रभाव हुने गरि उद्योग, कलकारखाना चलाएमा उसलाई कारवाही हुने छ । ऐन अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद् गठन गरिने छ । यदी कसैले वातावरणिय अध्ययन प्रतिवेदन स्वीस्कृत नगरि काम गरेमा ५ लाखसम्म जरिवाना हुनेछ भने स्वीकृत प्रतिवेदन विपरीत कुनै काम सञ्चालन गरे १० लाख रुपैयासम्म जरिवाना हुने छ । वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत नगराई वा त्यस विपरित कुनै प्रस्ताव कार्यान्वयन ल्याए ५० लाख रुपैयासम्म जरिवाना हुने व्यवस्था ऐनमा छ ।