काठमाडौं, १५ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६’ आयोजना गर्दै छ।
आइतबार र सोमबार काठमाडौंमा हुने सम्मेलनमा श्रम, रोजगार तथा उद्यम क्षेत्रका अगुवाहरुको सहभागीता रहने मन्त्रालयले जानकारी दिएको छ। युवालाई देशको आर्थिक विकासमा उपयोग गरी रोजगारी सिर्जना गर्ने, आन्तरिक श्रममा युवाको आकर्षण बढाउने सम्मेलनको प्रमुख लक्ष्य रहेको छ।
श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् ।