

काठमाडौं, १४ असार । पछिल्लो समय सांसद्मार्फत निर्वाचन क्षेत्रलाई दिइने भनेको ६ करोड बजेटको चर्चा चुलिएको छ । यसैबीच सर्वोच्च अदालतले पूर्वाधार विकासको नाममा सांसद्लाई ६ करोड रुपैयाँ दिनुपर्ने कारण पेस गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ न्यायाधीशको हिजोको इजलाशले किन सांसदहरुलाई निर्वाचन क्षेत्रका लागि रकम विनियोजन गर्नुपरेको हो, त्यसको कारण पेस गर्न भनेको छ ।
सर्वोच्चले सांसदहरुलाई पूर्वाधार विकासको नाममा निर्वाचन क्षेत्रमा रकम खर्च गर्नसक्ने गरी रकम विनियोजन गर्नुको कारण लिखितरुपमा मागेको छ । निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको ६ करोड प्रति सांसद्ले पाउने बजेट संविधानविपरीत भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
पारसमणि भट्टराईको रिट पहिलो पटक रजिष्ट्रारले दरपीठ गरेपछि न्यायाधीशको आदेशमा जेठ १९ गते दर्ता भएको थियो । करिब एक महिनापछि सुनुवाइ भएको निवेदनमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संलग्न रहेको संवैधानिक इजलाशले रकम विनियोजन गर्नुको कारण १५ दिनभित्र लिखितरुपमा लिएर छलफलमा आउन सरकारलाई भनेको छ ।