एनएसीले जापानसँगै चीन र साउदी अरेबियामा उडान भर्ने

एनएसीले जापानसँगै चीन र साउदी अरेबियामा उडान भर्ने

काठमाडौं, १३ असार । राष्ट्रिय ध्वजाबाहक जहाज नेपाल वायुसेवा निगमले जापानसँगै चीन र साउदी अरेबियामा पनि उडान भर्ने भएको छ ।

आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले साउदी अरब र चीनमा पनि उडान सुरु गर्ने तयारीमा जुटेको जनाएको छ । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट नियुक्ति गर्न केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ ।

यात्रुदेखि कार्गो एजेन्टका लागि समेत ग्लोबल बोलपत्र आह्वान गरिएको र एक महिनाभित्र टुङ्गो लाग्ने निगमले जनाएको छ । आउँदो दसैँअघि नै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमले जनाएको छ ।

साउदीमा रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको हो । पूर्व निर्धारित योजनाअनुरुप निगमले भदौ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरेको थियो ।

निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओसाका विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने छ । निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ ।