एसईईको नतिजा आज दिउँसो सार्वजनिक हुने

एसईईको नतिजा आज दिउँसो सार्वजनिक हुने

काठमाडौँ, १२ असार । गत २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज सार्वजनिक हुदैछ ।

परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘दिउँसो बोर्ड बैठक बोलाइएको छ, बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । जसमा दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन्।

एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ। परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ। यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन्।