नीति निर्माणमा सुझाव दिन युवा सम्मेलन

नीति निर्माणमा सुझाव दिन युवा सम्मेलन

काठमाडौँ, १० असार । नीति निर्माणमा युवाको भावना समेट्न सरकारलाई सुझाव दिने उद्देश्यले आज यहाँ युवा सम्मेलनको आयोजना गरिएको छ । युवा सशक्तीकणका क्षेत्रमा काम गर्दै आएका विभिन्न १५ संस्था र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा बृहद् यौनिकता शिक्षा, सुरक्षित गर्भपतन र वैवाहिक समानताका विषयमा छलफल भएको थियो ।

सरकारी अधिकारी, नागरिक समाजलगायत सरोकारभएका सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा युवा लक्षित नीति निर्माणमा सरकारले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा समेत छलफल गरिएको थियो । सन् २०२० सम्ममा सम्पूर्ण विद्यालयमा बृहद् यौनिकता शिक्षा लागू गर्न, विद्यालय बाहिर रहेका किशोरकिशोरीलाई यौन शिक्षा प्रदान गर्ने तथा वैवाहिक समानतालाई कानूनी मान्यता प्रदान गर्न युवा सम्मेलनले सघाउ पु¥याउने युवा संस्थाका उपाध्यक्ष सीजा सिंहले जानकारी दिनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी आवलाई युवा परिचालन वर्षका रुपमा घोषणा गरी सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको बताउनुभयो । विकास र समृद्धिको मेरुदण्डका रुपमा रहेको युवा जनशक्तिलाई मुलुकको राष्ट्रिय लक्ष्य हासिल गर्न परिचालन नगरेसम्म मुलुकको समृद्धि सम्भव नभएको बताउँदै उहाँले भन्नुभयो, “सबै युवालाई स्वरोजगार, उद्यमी तथा आत्मनिर्भर बनाउन नसके सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल हुँदैन ।”

युवालाई सही मार्गमा हिँडाउन सबैको सहयोगको खाँचो औँल्याउँदै मन्त्री सुनारले स्वास्थ्य सचेतना, यौन शिक्षा, गर्भपतनसम्बन्धी चेतना फैलाउन युवा वर्गले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलनका क्रममा आएको निष्कर्षले सरकालाई युवा केन्द्रित नीति, योजना, कार्यक्रम, ऐन, कानून निर्माण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा मन्त्रालयका उपसचिव कृष्णप्रसाद बस्यालले युवाको ऊर्जा र उत्साहलाई राष्ट्र निर्माणमा लगाउन सरकार क्रियाशील रहेको बताउनुभयो । समृद्धिका लागि युवाको भूमिकालाई सक्रिय बनाउन सरकारले नीतिगत सुधार गरेको उहाँको भनाइ थियो । सम्मेलनमा करीब १९० युवाका सहभागिता छ । रासस