सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनापछि अवरोध हटेको छ। स्थानीय ठेकेदार, मजदुर तथा आयोजनाबीच आज भएको छलफलले २ वटा सहमति गरेसँगै निर्माण कार्यमा हुँदै आएको अवरोध हटेको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको समन्वयमा छलफल भएको थियो। उक्त छलफलले समस्या समाधानका लागि समिति बनाएको छ भने समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्सम्म पुर्याई समस्या समाधानको पहल गर्ने निर्णय गरेको छ।
जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङ संयोजक रहेको समितिमा स्थानीय ठेकेदारहरु किरण थापा, शिवराम भट्टराई, कामदारका तर्फबाट देवी अधिकारी र बुद्धिकृष्ण लामिछाने, पत्रकार महासंघबाट महेश श्रेष्ठ, उपेन्द्र तामाङ, मेलम्ची खानेपानी आयोजनाका एक र मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका प्रतिनिधि छन्।
उक्त समितिले असार २० गतेसम्म प्रतिवदेन तयार गर्ने र २२ गते खानेपानी बोर्डमा पेस गर्ने सहमति भएको संयोजक श्रेष्ठले जानकारी दिए। उक्त प्रतिवेदन पारित गरेर खानेपानी मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ। छलफलमा आगामी असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भूक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजना स्थलमा स्थानीयले अवरोध नगर्ने सहमति जुटेको हो ।
स्थानीयवासी लगायत निर्माण व्यवसायीहरु डेढ अर्ब भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा छन्। इटालियन निर्माण कम्पनी सिएमसीले काम छाडेर गएपछि उनीहरुले रकम पाएका छैनन्। स्थानीय ठेकेदार तथा सप्लायर्सले आयोजनाबाट भूक्तानी पाउनुपर्ने रकम छिटो उपलब्ध गराउन आग्रह गरेको राष्ट्रवाणी प्रतिनिधि रामचन्द्र दुलालले जानकारी दिएका छन् ।