पुनर्जीवन पाउदै अस्पताल

पुनर्जीवन पाउदै अस्पताल

डोटी, ८ असार । चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका रुखहरुले शितल ओत दिन्छन् । परिसरमै आराम गर्न सफासुग्घर प्रतिक्षालय बनेको छ । जहाँ लाईन बसेर बिरामी तथा कुरुवाहरु शितल वाताबरणमा पालो पर्खन्छन् । ‘वेटिङ रुम’मा टिभी राखिएको छ । जसले सन्देशमूलक सूचना सहितको मनोरञ्जन दिन्छ ।

छेउछाउतिर ठाउँठाउँमा ‘फोहोर मलाई’ भन्दै लेखिएका ‘डष्टविन’ले जथाभावी फोहोर फाल्ने अनुमती दिदैनन् । तीनले अस्पतालको वाताबरण चिटिक्क राख्न मद्दत गरेका छन् । महिला तथा पुरुष शौचालय पनि सफासुग्घर छन् ।

ठाउँठाउँमा ‘निर्देशन सन्देश’हरु उल्लेख गरिएका छन् । ती सन्देशहरुले बिरामीहरुलाई छिटोछरितो सेवा लिन सहजता प्रदान गर्छन् । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको ‘उपस्थितीमा नियमितता र व्यवहारमा शिष्टता’ कायम गर्ने प्रयत्न गरिएको छ । यसले बिरामीहरु शिघ्र तथा पारिवारिक वाताबरणमा सेवा लिन पाईरहेका छन् ।

डोटी जिल्ला अस्पतालको यो स्वरुप र वाताबरण सधै यस्तो थिएन् । केही समयअघिसम्म अस्पताल आफै बिरामी थियो । परिसरपुरै दुषित र दुर्गन्धित हुन्थ्यो । शौचालय प्रयोगविहिन अवस्थामा थिए । अस्पताल आएका बिरामीले पानी नपाउने अवस्था थियो । बेलाबेला अस्तव्यस्त अस्पतालका समाचारहरु आईरहन्थे । न पर्याप्त चिकित्सक थिए, न स्वास्थ्यकर्मी ।

‘म पुग्दा चिकित्सकीय सेवा त निरन्तर थियो । तर, मन्त्रालयको अस्पताल गुणस्तर मापन तथा न्युनतम सेवा मापदण्ड थोरै थियो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. भुषण मिश्र भन्छन, ‘त्यसलाई बढाउनुपर्छ भन्ने दायित्वबोध भयो । त्यो दायित्वबोध टिमलाई पनि गराउने प्रयत्न गरे । आज सकेजति सुधार भएको जस्तो लाग्छ ।’ आफुले चिकित्सकीय सेवाको निरन्तरता, स्वास्थ्यकर्मीहरुको हाजिरीमा कडाई, अत्यावश्यक औषधि तथा समाग्रीको उपलब्धता, खानेपानीको प्रबन्ध, सरसफाईमा बिशेष जोड लगायतका व्यवस्थापकीय पक्षलाई बढी ध्यान दिने गरेको उनी बताउछन् । ‘मैले स्वस्थ वाताबरण र अस्पतालले दिने उपचार सेवाको निरन्तरता, प्रभावकारीता शिष्ट व्यवहारमा विशेष ध्यान दिने गरेको छुु । साथीहरुले साथ दिनुभएको छ,’ उनी थप्छन् ।
अस्पतालको वाताबरण, प्रदान गर्ने सेवा तथा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहारबाट आउने अक्सर बिरामीहरु पनि सन्तुष्ट पाईन्छन । ‘यहाँ हुनेजति उपचार गर्नैभएको छ । नहुनसक्ने त कसरी गरुन,’ उपचार गर्न अस्पतालमा पुगेका वोगटान गाउँपालिका–७ का गोरे जगत भुलले भने ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल गुणस्तर मापन तथा न्युनतम सेवा मापदण्ड(एमएसएस)मा पनि जिल्ला अस्पतालले आफ्नो अवस्था सुधार गर्दै लगेको छ । २०७४ मा ६८ प्रतिशत मात्रै रहेको थियो । गतवर्ष ७३ प्रतिशतमा रहदा यसपटक ८९ प्रतिशतमा छलाङ मारेको छ ।

सरकारी चिकित्सक छैनन
चारजना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले गैह्र सरकारी संस्थाले खटाएका चिकित्सकका भरमा धानिएको छ । अस्पतालमा नवौ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुईजनाको दरबन्दी छ । जसमा एकजना मेडिकल अधिकृत डा. मिश्र मात्रै कार्यरत छन् । उनैले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर चलाईरहेका छन् ।

गैह्र सरकारी संस्था निक साईमन ईन्टरनेशनलले दुईजना चिकित्सक उपलब्ध गराएको छ । जसमा एमडिजिबी डा. गिरिश अवस्थी र एमविविएस डा. खुसिद आलम खान रहेका छन् । ‘उहाँहरु नभए त स्थिती गाह्रो हुन्थ्यो, एक्लैको हातमा अस्पताल नाममात्रको हुन्थ्यो,’ मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्र भन्छन् ।

चिकित्सक अभावकै कारण सेवा विस्तारमा पनि समस्या भईरहेको उनले बताए । ‘हामीकहाँ धेरै समस्या महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी हो । त्यसमा महिला रोग बिशेषज्ञ अत्यावश्यक छ,’ उनले भने,‘हाडजोर्नीको समस्या पनि उत्तिकै छ ।’ तत्काल दरबन्दी अनुसार चिकित्सक उपलब्ध भएपनि ठुलो राहत हुने उनी बताउछन् । स्वास्थ्यकर्मीको दरबन्दी भने अहिले पुर्ण छ ।

५० सैय्याको संरचना छ, स्वीकृती छैन
अस्पताललाई ५० सैड्ढयामा स्तरोन्नती गर्न पर्याप्त संरचना बनेका छन् । तर अझै १५ सैड्ढयाको अस्पताल मात्रै स्वीकृत छ । भौतिक पूर्वाधार तयार भएको रिपोर्ट सहितको ५० सैड्ढयाको अस्पतालको माग फाईल स्वास्थ्य मन्त्रालय पुगेको बर्षौ भयो । तर अझै मन्त्रालयले यसतर्फ चासो देखाएको छैन् । ‘सुदूर पहाडमा अझैपनि एउटा राम्रो रेफरल हस्पीटल छैन् । यसमा सरकारको ध्यान जानुपर्ने हो,’ जिल्ला अस्पतालमा कार्यरत डा. गिरीश अवस्थी भन्छन्,‘संरचना तयार भईसकेको अस्पताललाई स्वीकृती प्रदान गर्न हिच्किचाउनु हुदैनथ्यो ।’ उनका अनुसार राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था छ । आईसियूमा राख्नुपर्नेसम्मका बिरामीले त मृत्यूवरण गरिरहेको उनी बताउछन् ।

संरचना तयार भईसक्दा अस्पताललाई स्वीकृती नदिनु, राज्यले व्यवस्थापनमा ध्यान नदिनु दुखद भएको त्रिवि शिक्षण अस्पतालका पुर्व निर्देशक प्रा.डा. दीपक महराले बताए । ‘अझैपनि यसक्षेत्रमा उपचार नपाएर थुप्रै मानिस ज्यान गुमाईरहेका छन् । यसबारे सरकार संवेदनशिल हुनुपर्छ,’ यसैसाता गृहजिल्ला पुगेका उनले भने,‘संरचना तयार भईसकेपछि यहाँको यहाँको स्वास्थ्य समस्या अनुसारको चिकित्सकीय सेवा दिनु राज्यको दायित्व हो ।’

डोटीमा यसअघि पनि क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद गरिएको जग्गा अलपत्र छ । अन्य विकास क्षेत्रमा क्षेत्रीय अस्पताल बन्दा सुदूरपश्चिममा मात्रै बन्न सकेन्, अहिले जिल्ला अस्पतालमा ५० सैड्ढयाका लागि बनिसकेको संरचना उपयोगमा समेत सरकार उदासिन देखिएको छ ।