काँग्रेसले डाक्यो केन्द्रीय समिति बैठक, असार २२ गते बस्ने

काँग्रेसले डाक्यो केन्द्रीय समिति बैठक, असार २२ गते बस्ने

काठमाडौं, ६ असार । नेपाली काँग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा लगायतका विषयमा छलफल गर्न काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ – ‘कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ साल आषाढ २२ गते आइतवारका दिन विहान ११ः०० (एघार) वजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा वस्ने भएकोले पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । ‘

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काँग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने काँग्रेसले जनाएको छ ।

बैठकका छलफलका विषय (एजेण्डा)

१. नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल,
२. राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा,
३. भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा,
४. समसामयीक राजनीतिक विषयका सन्दर्भमा ।