काठमाडौं, ५ असार । यो वर्षको मनसुनी वर्षा १० दिन ढिलो सुरु भएको छ । आजदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले औपचारिक जानकारी दिएको छ ।
गत वर्ष भने ८ जुनमा नै मनसुन शुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ । विभागका अनुसार सन् १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो । विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको छ ।
२००८ मा सबैभन्दा लामो अर्थात् १ सय ३० दिनको मनसुन थियो । सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा शुरु भएको थियो । १९८२ जुन २७ मा शुरु भएको मनसुनलाई अहिलेसम्मकै ढिलो मनसुन मानिएको छ । जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधीलाई दक्षिण एसियाली मनसुनको अवधी भनिन्छ । साधारणतया नेपालमा ८ जुनमा शुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधीमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ । महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने अनुमान छ ।