काठमाडौं, ५ असार । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित गरेपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको छ ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको खुलासा गर्नु भएको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो । आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उहाँको भनाइ थियो । गुठी लगायतका केही विधेयकमा जनताको असन्तोष देखिएको भन्दै दाहालले जनताको असन्तुष्टिलाई देखेर नै विधेयक फिर्ता लिइएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, –‘अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्छ । यो कुराको बोध हामी सबैलाई छ र हामी त्यसैमा अन्तिम रुपले प्रयासरत छौं ।’
अध्यक्षले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र आइतबार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको अध्यक्षको भनाई थियो ।
उहाँले भन्नुभयोे, –‘पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अघि नै सार्वजनिक भएको हो, अहिले नै त्यो बिषयलाई चर्चा र विवादमा ल्याउन कोही नै कोही खेलिरहेको छ ।’ उहाँले एकअर्को प्रसंगमा विप्लव समूह राजनीतिक प्रक्रियामा आउनुको बिकल्प नरहेको धारणा राख्नुभयो ।