सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज पौडेल मारिए

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज पौडेल मारिए

काठमाडौं, ५ असार । सर्लाहीमा प्रहरीको गोली लागेर एकजना नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताको मृत्यु भएको छ। सर्लाहीको लालबन्दीमा प्रहरी र ‘विप्लव’ समूहबीच भिडन्तमा प्रहरीसँगको भिडन्तमा ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पाैडेल सर्लाहीको बाग्मती नगरपालिका-२, धरहराका स्थायी हुन् ।

लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिएका छन् । उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको उनले बताएका छन् । मोटरसाइकलमा सवार अरु ३ जना भने भागेका छन् । थप प्रहरी परिचालन गरेर भागेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विप्लव कार्यकर्ताको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर प्रहरीले बरामद गरेको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको बताएकाे छ ।