काठमाडौं, ४ असार । परीक्षा नियन्त्रक कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका विद्यार्थीहरुसँग मोटो रकम लिएर पास गराउने गिरोह पक्राउ परेको छ। फेल भएका विद्यार्थीबाट रकम लिएर पास गराएको आरोपमा अख्तियारले त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्माचार्यसहितको टोलीलाई पक्राउ गरेको हो ।
अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढी अंक थपेर मोटो रकम लिने गिरोहमध्येका दुईजनालाई पक्राउ गरिएको हो ।
विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेनको सहमति भएको सूचना पाएपछि अख्तियारले उनीहरुको निगरानी गरेको थियो ।
कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार पक्राउ परेका छन् । अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए ।
स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिस्ट’ हुने रहर पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसम्म पुगेका थिए । अन्ततः उनीहरु दुबै अख्तियारको फन्दामा परेका छन् ।
यसैबीच त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पट्टेल बुधबार ५० हजार घुस लिँदालिँदै कीर्तिपुरस्थित टयाङलाफाटबाट पक्राउ परेका छन् ।
विभिन्न कलेजको नवीकरण गर्ने क्रममा उनलाई अख्तियारको विशेष टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो ।