अन्ततः फिर्ता लियो सरकारले गुठी विधेयक

अन्ततः  फिर्ता लियो सरकारले गुठी विधेयक

काठमाडौं, ३ असार । चौतर्फी विरोध भएपछि सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिनुभयो । सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो ।

गुठी विधेयकले धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उपत्यकाका तीन वटै जिल्लामा विधेयकविरुद्ध आन्दोलन चर्किएको थियो ।

मन्त्रालयले मंगलबार वक्तव्‍य जारी गर्दै गुठी विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्‍ने कोशिस भएकोले सम्बन्धिच सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको विधेयक फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।

‘नेपालको संविधानको धारा २९० अनुसार गुठीको मुलभूत मान्यता अनरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेको किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणहरुको हित कायम गर्न र गुठीको जग्गाको उत्पाखकत्व बढाउने उद्देश्यले सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ पेश गरिएको सर्वविदितै छ ’– विज्ञप्तिमा भनिएको छ ।