

काठमाडाैं, ३ असार । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि युग सुहाउँदो गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले मुलुकलाई चाहिने जनशक्ति उत्पादनका लागि अब हामीले बालबालिकालाई प्राविधिक र जीवनोपयोगी शिक्षा दिन सक्नुपर्छ भन्नुभयो । उहाँले जनताले प्राप्त गरेका संवैधानिक अधिकार खुम्चाउने गरी ल्याउन लागिएको मिडिया काउन्सिल र गुठीसम्बन्धी विधेयकले सङ्घीयता र गणतन्त्रको विकासमा योगदान पुग्न नसक्ने हुँदा यी विधेयक फिर्ता लिन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता मानवहादुर घिसिङले शिक्षामा मात्र होइन, विकासमा पनि तुलनात्मकरुपमा पछि परेको यस क्षेत्रको विकासमा पछिल्लो सयम पूर्वमन्त्री बस्नेतबाट भएको पहललाई स्थानीयवासीले सधैँ स्मरण गरिरहने बताउनुभयो । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले विद्यालयको स्तर तहगत उन्नति भएमा कक्षा ११ र १२ मा पढ्ने चार जना विद्यार्थीका लागि वार्षिक रुपमा अध्ययनका लागि लाग्ने खर्च र कम्युटरका लागि इन्टरनेट सेवा आफुले उपलब्ध गराउने बचन दिनुभयो । स्थानीय नमूना साना किसान सहकारी संस्थाका अध्यक्ष शेरबहादुर रायमाझीले करेसाबारीमा तरकारी उत्पादन गर्ने, खेतबारी बाँझो हुन नदिने तथा किसानका गोठमा गाईभैँसी र खोरमा बाख्रा भरिभराउ हुने खाले शिक्षा प्रदान गर्न विद्यालय सञ्चालक समिति र शिक्षक शिक्षिकासँग आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर तामाङले कक्षा ११ र १२ सञ्चालनका लागि विशेष पहल गर्ने, मल्टिमिडियाको माध्यमबाट हुँदै आएको पढाइलाई थप व्यवस्थित गर्ने, गुणस्तरीय शिक्षा प्रदानका लागि प्रेरित गर्ने तथा खेल मैदान निर्माण र पुस्तकालयको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक धीरेन्द्रकुमार राउतले २०७२ सालको भूकम्पपछि बनेका विद्यालयका तीनवटा पक्की भवनमा अहिले १३४ छात्रा र १२७ छात्रले कक्षा १० सम्म अध्ययन गरिरहेको जानकारी दिनुभयो । विद्यालयकी पूर्वछात्रा मसिना खड्काले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु एक लाखबराबरको शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गर्नुभयो । नवनिर्मित दुई तल्लाको अत्याधुनिक सुविधासम्पन्न भवन करीब रु ६५ लाखको लागतमा निर्माण सम्पन्न भएको थियोे ।
