इजिप्टका पूर्वराष्ट्रपतिको निधन

इजिप्टका पूर्वराष्ट्रपतिको निधन

एजेन्सी । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित हुनुभएका उहाँको मृत्यु भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो । जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै बेहोस भएर लडेको केहि समयमा नै मृत्यु भएको हो ।

अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो । अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ । निधन हुनुको खास कारण भने खुलाइएको छैन । मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।