काठमाडाैं । संघिय संसदकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारबाहीलाई सुक्ष्म रुपमा अनुगमन गर्न गठन गरेको छायाँ सरकारका मन्त्रीहरुले नियुक्ति पत्र पाएका छन् ।
कांग्रेस सभापति एवम् छायाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुलाई नियुक्ति पत्र दिएका हुन् । अर्थ मन्त्रालय हेर्ने जिम्मा डा. मिनेन्द्र रिजालले पाएका छन् भने दिलेन्द्रप्रसाद बडूले गृह मन्त्रालय हेर्ने जिम्मेवारी पाएका छन् ।
त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्र मन्त्रालय डा नारायण खड्का, शहरी विकास मन्त्रालयमा उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्रालयमा किशोर सिंह राठौर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मीनबहादुर विश्वकर्मा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हेर्ने जिम्मा गगन कुमार थापाले पाएका छन् ।
यसैगरी खानेपानी मन्त्रालयतर्फ सुजाता परियार, स्वास्थ्य तथा जनसंख्यामा पार्वता डि सी चौधरी,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा देवेन्द्रराज कण्डेल,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डा डिला संग्रौला पन्त,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा लक्ष्मी परियार ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतहर कमाल मुसलमान,कृषि तथा पशुपंक्षी मन्त्रालयमा पद्म नारायण चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय उमा रेग्मी ,रक्षा मन्त्रालयमा भिसेनदास प्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सञ्जय कुमार गौतम, कानून र न्याय तथा संसदीय मामिला मन्त्रालयमा राधेश्याम अधिकारी र वन तथा वातावरण मन्त्रालयमा राजेन्द्र कुमार केसीले हेर्ने जिम्मा पाएका छन् ।
कांग्रेसले संसदीय दलको विधान बमोजिम जेठ ६ गते छायाँ सरकार गरेको थियो ।संयोजक र दुई जना सहसंयोजक रहने गरी ४८ जनालाई छायाँ मन्त्री र सहायक मन्त्री बनाइएको छ ।