हुरीपीडितलाई सघाउन आपत्कालीन कोष स्थापना

हुरीपीडितलाई सघाउन आपत्कालीन कोष स्थापना

कञ्चनपुर, २६ जेठ । हावाहुरीका कारण क्षति व्यहोरेका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनका कार्यक्रम अगाडि बढाउनका लागि आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाको विपत् व्यवस्थापन समितिको आकस्मिकरूपमा शनिबार बसेको बैठकले एक करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनाका लागि नगरपालिकाको समपूरक कोषमा रहेको रकममध्ये ७५ लाख रुपैयाँ आपत्कालीन कोषमा राख्ने निर्णय गरिएको छ ।

विपत् व्यवस्थापन समितिको कोषमा यसअघि छ लाख रुपैयाँ मात्रै रहेको थियो । हुरीपीडितको उपचार, राहत वितरण र पुनःस्थापनामा रकमले नपुग्ने भएपछि आपत्कालीन कोषमा थप रकम नगरपालिकाले जम्मा गर्ने भएको छ ।

कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिको एक महिना बराबरको सेवा सुविधाबापतको रकमसमेत जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख कर्णबहादुर हमालले बताउनुभयो । कोषमा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरले एक महिना बराबरको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

“नगरपालिकामा कार्यरत कर्मचारीको पाउने पारिश्रमिकबाट समेत २५५ रुपैयाँ अनिवार्यरूपमा कोषमा जम्मा गर्ने र त्योभन्दा बढी रकम कर्मचारीले स्वेच्छिकरूपमा जम्मा गर्न सक्ने निर्णय गरिएको छ”, वडा नं २ का अध्यक्ष जयनारायण जोशीले भन्नुभयो ।

विपतमा परेकाको उद्धार, उपचार तथा पुनःस्थापनाका कार्यमा नगरपालिकाले कार्य अगाडि बढाइसकेको र नगरवासी सबैमा हावाहुरीपीडित परिवारको सहयोगमा जुट्नसमेत जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नगरपालिकामा हावाहुरीका कारण दुई हजार बढी घरमा क्षति पुगेको छ । हावाहुरीका कारण आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । नगरपालिका कार्यालयले जनप्रतिनिधिलाई वडावडामा खटाएर हावाहुरीबाट क्षति व्यहोरेका परिवारको विवरण सङ्कलनको कार्यसमेत सुरु गरेको छ । रासस