तातोपानीबाट दशैँताका मात्रै व्यापारिक कारोबार

तातोपानीबाट दशैँताका मात्रै व्यापारिक कारोबार

सिन्धुपाल्चोक, २६ जेठ । तातोपानी नाका जेठ १५ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आए पनि व्यापारिक कारोबार भने आगामी दशैँताका मात्र सुरु हुने भएको छ ।

तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले आउने दशैँबाट नाकामा पूर्ण रूपमा कारोबार हुने बताउनुभयो । नाका औपचारिक रूपमा खुलाए पनि चीनले सुक्खा बन्दरगाह हस्तान्तरण गरेको छैन । सुक्खा बन्दरगाहमा आवश्यक फर्निचर, उपकरण पनि दिएको छैन । साथै नेपाल र चीन दुवैतर्फको भौतिक पूर्वाधार निर्माण भइरहेका कारण मालवाहक गाडी आउजाउ गर्न नपाउँदा कारोबार हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार चिनियाँ अधिकारीले व्यापार पूर्ववत् अवस्थामा ल्याउन दशैँअघिसम्मको समय लाग्ने जानकारी दिएको बताउनुभएको छ ।
चीनले आफ्नो भू–भागतर्फ नौ किलो मिटर सुरुङमार्ग खनिरहेको छ । व्यवस्थित व्यापारिक गोदाम घर बनाइरहेको छ । प्रविधियुक्त र अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । ती सबै निर्माण कार्य दशैँअघि सकेपछि मात्र पूर्ववत् रूपमा व्यापरिक कारोबार हुने चिनियाँ अधिकारीले जानकारी दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

चीनले जेठ १५ गते तातोपानी नाका औपचारिक रूपमा खुलाएको थियो । सो दिन चीनबाट चारवटा कन्टेनर उन बोकेर नेपाल भित्रिएका थिए । उक्त समयपछि अहिलेसम्म आयत निर्यात भएको छैन । याे खबर आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित छ ।