

डडेल्धुरा, २४ जेठ । अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन्।
वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन्। स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र वरिपरिको वातावरण नै दुर्घ्न्धित भएकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीयवासी राम भण्डारीले बताए।
डम्पिङ साइट हटाउन नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि सुनवाइ नभएकाले आफूहरू आन्दोलन गर्ने तयारीमा रहेको उनको भनाइ थियो। नगरपालिकाले बजार क्षेत्रमा संकलन हुने फोहर गुनेइगाडमा फाल्छ, जहाँको पानी सोही नगरवासीदेखि लिएर अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका बासिन्दाले प्रयोग गर्दै आएका छन्।
डम्पिङ साइटका कारण रातको समयमा फोहरमा स्याल, बँदेललगायत जीव आउँदा त्यही बाटो भएर ओहोरदोहोर गर्न समस्या हुने गरेको उनीहरूको गुनासो थियो । नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डम्पिङ साइट निर्माणका लागि जमीन खोजिरहेको र त्यसका लागि सूचना पनि जारी भइसकेको बताए।
‘पहिलाको डम्पिङ साइटमा त्यहाँका बासिन्दाले फोहर फाल्न अवरोध गरेकाले अस्थायी रुपमा कुयलीमा राखेका हौँ। अब स्थायी ठाउँका लागि जमीनको खोजी गरिरहेका छौँ,’ उनले भने। रासस