कञ्चनपुर, २४ जेठ । कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।
हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताउनुभयो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् ।
चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीका कारण २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमूख एसपी दिनेश कुमार आचार्यले बताउनुभयो । हावाहुरीले विद्युतको पोल ढलेका छन् भने अधिकांश घरको छाना उडाएको छ । हावाहुरीले टिनको छाना भएको घरमा धेरै क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले हावाहुरी रोकिएको छ । हिजो साँझदेखि अवरुद्ध विद्युत आज विहानबाट सुचारु भएको छ ।