

काठमाडौं, २३ जेठ । विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा विभागीय डर्बी क्लब एपीएफलाई पाँच विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
अब पुलिसले पर्सि शनिबार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर यसअघि नै फाइनल पुगिसकेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले नौ ओभर तीन बलमा पाँच विकेट गुमाएर पुरा गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर एक बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।